काठमाडौं । नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।
सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी हाइ भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ ।
यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएको छ । यस्तै, जलविद्युत क्षेत्रमा सहकार्य गर्न प्रस्तावित सुनकोसी–३ जलविद्युत आयोजना ६८३ मेगावाट को विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन समेत यथाशिघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने र अध्ययन प्रतिवेदनहरूमा बंगलादेश पक्षले छिट्टै धारणा दिने सहमति समेत भएको छ ।
नेपाल–बंगलादेश ऊर्जा बैठकका लागि बंगलादेशबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका थिए । जसमध्ये सह–सचिवस्तरीय र सचिवस्तरीय गरेर दुई दिन बैठक चलेको थियो ।
Leave a Reply