Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

    भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ ।

    भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ, जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो ।



    सन् १८३० मा सर्भे भएको आधारमा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । भारत आँफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनदी भएको दाबी गर्दै आएको छ ।



    तथ्यअनुसार सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । कालीनदीलाई नै नेपाल–भारतको सिमाना मानिएको छ । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । २०१८ सालमा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्बयाङ र नाभी गाउँमा नेपालले जनगणना गरेको प्रमाण नेपालसँग छ । नेपालले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको अर्को ऐतिहासिक प्रमाण भनेको लाइब्रेरी अफ कंग्रेस, वासिङ्टनडिसीमा रहेको नक्सा पनि हो । सन् १८२७ मा जारी भएको सो नक्सामा कालीनदी स्पष्ट देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट छ ।

    सन् १८५६ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा रहेको उल्लेख छ । कालीनदीको उद्गम थलो सो नक्सामा लिम्पियाधुरा रहेको जनाइएको छ ।

    १ नोभेम्बर १८६० मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई फिर्ता गर्न सम्झौता भएको थियो । सन् ७ जनवरी १८७५ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत लिम्पियाधुरालाई नेपालको भूभाग भनिएको छ ।

    सन् २०१४ मा भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी नेपाल आउँदा सुस्ता र कालापानीसहित सबै सीमाविवाद समाधान गर्ने सहमति भएको थियो । जसअनुसार सुस्ता र कालापानीका विषयमा टुंगो लगाउने प्रस्ताव तयार गर्न परराष्ट्र सचिवहरूलाई जिम्मा दिइएको थियो । तर, अझै सो समस्या समाधान हुन सकेका छैन ।

    नेपाल र भारतको विषयमा सीमा विवाद समाधान नभइरहेका बेला २६ वैशाखको बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहले मानसरोवर जाने लिंकरोडअन्तर्गत धार्चुला–लिपुलेक खण्ड आफूले उद्घाटन गरेको भन्दै ट्वीट गरेसँगै नेपाल र भारतबीचको सीमा विवाद सतहमा आएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतसँग आग्रह गरेको थियो ।

    भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै, लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झन्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ । भारतले समेटेको सो भूमिलाई नेपालले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा समेटेको छ ।

    भारतले सो भूमिमा विगत ५८ वर्षदेखि भारतीय सुरक्षाफौज राखेर कब्जा जमाइरहेको छ । भारत र चीनबीच युद्ध भएको समय ९सन् १९६२०देखि मिचिएको र त्यसपछि २०५३ सालदेखि प्रकाशनमा बहुचर्चित भएको कालापानी–लिम्पियाधुरा क्षेत्र मानिएको छ । चीन र भारतबीच युद्ध हुँदा भारतको आग्रहमा तत्कालीन राजा महेन्द्रले नेपालको कालापानीमा सेनाको क्याम्प राख्न दिएको थियो । तर, भारतले सो भूमिबाट अझै पनि आफ्नो सेना हटाएको छैन । राजधानी दैनिक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार