काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई जना सवारी चालकविरुद्ध मुद्दा दायर गरेको छ ।
ट्राफिक प्रहरीको रात्रिकालीन चेकिङका क्रममा दुई जना चालक मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका हुन् ।
जसमध्ये एक जना यात्रुवाहक बसका चालक रहेका छन् भने अर्का ट्याक्सी चालक रहेका छन्। उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरिएको छ ।
चेकजाँचका क्रममा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेपछि मुद्दा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अगाडिको सडकमा बा ३ ख ४३८३ नम्बरको भाडा बस चलाइरहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका २ का सरोज श्रेष्ठमाथि प्रहरीले मुद्दा चलाएको हो ।
श्रेष्ठमाथि छानबिनका लागि प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिनको अनुमति लिएको छ । उनीमाथि प्रहरी वृत्त कीर्तिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।
त्यस्तै भक्तपुरको जगातीमा गएराति भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६१५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ मा ४० वर्षीय अनिल धितालविरुद्ध मुद्दा चलाइएको हो ।
Leave a Reply