काठमाडौं । आगामी संघ र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दैछ । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज पुनः बैठक बस्न लागेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले मंगलबारको बैठकबाट सिट बाँडफाँटबारे टुंगोमा पुग्ने बताएका थिए।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सिट बाँडफाँट र त्यस पछिको अवस्थाका बारेमा छलफल भएको मन्त्री कार्कीको भनाइ थियो। बैठकमा सिट बाँडफाँटको आधारबारे छलफल भएको तथा निष्कर्ष नजिक पुगेको र मंगलबार बैठक बसेर टुंग्याइने कार्कीले बताएका थिए।
सोमबारको बैठकमा २०७४ सालको चुनावमा जितेका सिटहरु सम्बन्धित दलले राखेर बाँकी सिटमा भागबण्डा गर्ने छलफल भएको कार्यदलका एक सदस्यले जानकारी दिएका थिए। बाँकी सिटमा नेपाली कांग्रेसले ६० प्रतिशतले लिने र अरु दलले ४० प्रतिशत पाउने विषयमा छलफल भएको थियो।
Leave a Reply