काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म गठबन्धन कायम रहने दावी गरेका छन् ।
कृष्णप्रसाद भट्टराई फाउण्डेशनले आज बुधबार काठमाडौंमा आयोजना गरेको ‘नव-निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई, शुभकामना तथा अन्तर्क्रिया’ कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गठबन्धन निर्वाचनसम्म रहने जिकिर गरेका हुन् ।
उनले जलस्रोत, पर्यटन, कृषि क्षेत्रलाई उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुुलुकका रुपमा विकास गर्ने योजना रहेको धारणा राखे ।
विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न उनले जनप्रतिनिधिलाई निर्देशन दिए । मन्त्री कार्कीले सीमित स्रोतरसाधनबीच योजना बनाएर प्राथमिकताका आधारमा गर्नुपर्ने काममा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।
सत्ता गठबन्धनको कार्यदलको बैठकमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गर्दा मन्त्री कार्कीको धारणा बाहिर आएको हो । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सिट बाँडफाँटका लागि गठन भएको गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको हो ।
बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । आजको बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।
Leave a Reply