काठमाडौं । सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
आजको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने तयारी गरिएको छ । बुधबारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको खाका पेस गर्नेछन्।
यसअघि सोमबार बसेको कार्यदलको बैठकले सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।
तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रुपमा राखेर मापदण्ड बनाइने भएको छ ।
गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए।
Leave a Reply