काठमाडौं । नेपालमा अवैध रहेको क्रिप्टो कारोबार गर्ने गरेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुद्दा चलाएका व्यवसायी अमित श्रेष्ठले क्रिप्टो कारोबार गरेको तथ्य नभेटिएको स्वयम् प्रहरीकै रिपोर्टले देखाएको छ । प्रहरीको डिजिटल फरेन्सिक ल्यावले साउन ५ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठाएको पत्रमा श्रेष्ठको ल्यापटप परीक्षणका क्रममा उनले क्रिप्टो करेन्सी सम्बन्धी एप्लिकेसन, सफ्टवेयर तथा वालेट इन्स्टल गरेको नदेखिएको उल्लेख छ । त्यस्तै, श्रेष्ठले चलाउने मोवाइल फोनसेटमा पनि क्रिप्टो सम्बन्धि कुनै पनि कारोबार नगरेको उल्लेख छ ।
जबकी श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयले शुरुमा अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो । उनीबाट बरामद भएका मोवाइल, ल्यापटप लगायतका डिभाइसहरु जाँचका लागि फरेन्सिक ल्यावमा पठाइएको थियो । फरेन्सिक ल्यावले बरामद भएका ती डिभाइसहरुबाट क्रिप्टो करेन्सीको कारोबार हुने तथ्य फेला परेको भन्दै प्रहरी स्रोतलाई नै हवला दिएर विभिन्न सञ्चारमाध्यमहरुमा गोयवल्स शैलीमा समाचार प्रशारण भएका थिए । तर, फरेन्सिक ल्यावको रिपोर्टमा क्रिप्टो करेन्सी सम्बन्धि कारोबार गरेको नदेखिएको उल्लेख छ । जसका कारण श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाइएको प्रकरण नै शंकाको घेरामा परेको छ भने प्रहरी अनुसन्धानमाथि पनि प्रश्नचिन्ह उठेको छ । श्रेष्ठ अहिले पूर्पक्षका लागि थुनामा छन् ।
त्यस्तै नेपालबाट गैरकानूनी रुपमा हुण्डी कारोबार मार्फत विदेशमा रकम लगी विदेशी बैंकहरुमा आफ्नो नाममा खाता खोली शंकास्पद कारोबार गरेको श्रेष्ठमाथि अभियोग लगाइएको छ । श्रेष्ठमाथि जसरी पनि अनुसन्धान गरी पुर्वाग्रह ढंगबाट अभियोजन गर्ने मनसायबाट प्रहरी प्रेरित भएको देखिन्छ ।
शुरुमा उनलाई क्रिप्टो करेन्सीको सम्बन्धमा अनुसन्धान गर्न भन्दै हिरासतमा लिइयो । तर, कुनै प्रमाण फेला नपरेपछि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको थियो । जुन मुद्दामा दुई हजार धरौटीमा छुट्न नपाउँदै उनीमाथि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले पुनः हिरासतमा लियो । अदालतबाट समेत सोही मुद्दामा हिरासतमा राख्ने म्याद थप हुँदै गयो । तर, काठमाडौं प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम पनि मुद्दा दायर गरेन । अन्तिममा हुण्डी कारोबार गरेको भनी नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । तर, श्रेष्ठले हुण्डी कारोबार गरेको प्रमाण प्रहरीले पेश गर्न सकेको छैन ।
जवकी हुण्डी कारोबार गर्ने व्यक्तिहरुको हकमा राज्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर गर्ने गर्दछ । श्रेष्ठको मुद्दामा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर नगर्नुको कारण उक्त ऐन अन्तर्गतको मुद्दामा स्वतः धरौटीमा प्रतिवादीलाई अदालतले छोड्न सक्ने भएकोले भन्ने स्पष्ट छ । त्यसका अतिरिक्त श्रेष्ठलाई लगाइएको अभियोग राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अन्तर्गतको कसुर, क्रिप्टो करेन्सीको कारोबार गर्ने व्यक्तिलाई लगाउँदै आएको अभियोग हो । जवकी श्रेष्ठको हकमा उनले क्रिप्टो करेन्सीको कारोबार गर्ने कुरा अभियोगमा उल्लेख पनि छैन । तर, बाहिरी रुपमा अण्डरवल्र्ड डन नै पक्राउ परेझै प्रचार गर्ने अभिप्रायाले श्रेष्ठमाथिको अभियोग भने राष्ट्र बैंक ऐन अन्तर्गत लगाइएको देखिन्छ ।
त्यस्तै श्रेष्ठमाथि लगाइएको अर्को अभियोग हो अवैध रुपमा विदेशी बैंकमा खाता खोली कारोबार गरेको । अष्ट्रेलियाको कमनवेल्थ बैंक अफ अष्ट्रेलियामा रहेको खाताको सम्बन्धमा भएको सत्यतथ्य भने श्रेष्ठले सन् २००५ देखि सन् २०१४ सम अफगािनसानमा सुरवातमा अन्तर्राष्ट्रिय संस्थामा रोजगारी र आफै व्यवसाय सञ्चालन गरेका थिए । व्यवसायका क्रममा उनले दुबईमा समेत कम्पनी स्थापना गरेर अफगानिस्तानमा बेलायत सरकार लगायत अन्य निकायलाई सामान आपूर्ति गरेका थिए । रोजगारी एवं व्यवसाय सञ्चालसँग सम्बन्धित पत्र, प्रमाणपत्र, सम्झौता पत्र समेत उनले देखाएका छन् ।
त्यसका अतिरिक्त वेलायती सेनालाई श्रेष्ठको कम्पनीले विभिन्न सामान आपूर्ति गरेवापत उनलाई वेलायत सरकारले तक्मा समेत दिएको देखिन्छ । व्यवसायकै क्रममा श्रेष्ठको अफगानिस्तान एवं दुबईमा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा बैंक खाता रहेको खुलेको छ । श्रेष्ठले दुबइ र अफगानिस्तामा रोजगारी एवं व्यवसाय गरी प्राप्त गरेको आम्दानी नेपाल ल्याएर विभिन्न व्यवसायमा लगानी गरी सम्पत्ति जोडेका हुन् ।
यसरी विदेशबाट अमेरिकी डलरमा रकम भित्र्याउँदा नेपाली बैंकहरुमा पनि डलर खाता खोलेका थिए । श्रेष्ठको नविल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकमा खातामा विदेशबाट रकम प्राप्त भएको देखिन्छ । श्रेष्ठले सन २०१९ को फेव्रुअरी महिनासम्ममा दुबइमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खाताबाट अधिकांश रकम नेपाल ल्याएका थिए । त्यो समयमा उक्त बैंक खातामा एक लाख २५ हजार ४०३ अमेरिकी डलर मौज्दात रहेको पनि खुलेको छ ।
श्रेष्ठमाथि हुण्डी गरेर नेपालको रकम विदेश लगेको भन्ने अभियोग लगाइएपनि नेपालबाट विदेश रकम पठाएको सम्बन्धमा प्रहरीले कुनै पनि तथ्य प्रमाण पेश गर्न सकेको छैन । त्यस्तै उनलाई लगाइएको मुल आधार याहु फाइनान्स एपको स्क्रिनसर्टलाई राखिएको छ । याहु फाइनान्स एपको स्क्रिनसर्ट कुनै व्यक्तिको सेयर लगानी प्रतिविम्वित गर्ने प्रयोजनको लागि निर्माण गरिएको विवरण होइन । सो कुरा अनुमानित वा परिकल्पित सेयर लगानीको प्रक्षेपण गर्न प्रयोग गरिने कुरा हो । याहु फाइनान्स एप जो कसैले पनि डाउनलोड गरेर आफूले चाहेको कम्पनी एवं कित्ता सेयर उल्लेख गरी समयको अन्तरालमा सो सेयरको मूल्यलाई अनुगमन गर्न प्रयोग गरिन्छ । अनुमानित वा परिकल्पित सेयर लगानीको प्रक्षेपण एपको कुनै स्क्रिनसर्टको आधारमा कपोकल्पित रकम क्यानडामा लगानी गरेको भन्नु नै अतिशयोक्ति र पूर्वाग्रह हुने एक उच्च प्रहरी अधिकारी नै दावी गर्छन् ।
विशाल सिमेन्टका पूर्व सञ्चालक समेत रहेका श्रेष्ठमाथि प्रहरीले दिएको राय भन्दा फरक मागदावी सहित जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
उच्च प्रहरी अधिकारी नै शंकाको घेरामा
श्रेष्ठ प्रहरीभित्र परिचित व्यवसायी हुन् । केही वर्षअघि श्रेष्ठसँग जोडिएकी एक महिला ठगी सम्बन्धी कसुरमा पक्राउ परेपछि श्रेष्ठ प्रहरीमा झनै चर्चामा आए । धेरै उच्च प्रहरी अधिकारीसँग श्रेष्ठको सम्बन्ध रहेको छ । त्यस्तै ती महिलालाई पनि एक विचौलियाले प्रहरीका उच्च हाकिमहरुसँग भेटाउँदै आएका छन् ।
त्यसो त श्रेष्ठको चिनजानका पुराना साथी हुन्, प्रविन शाक्य नामका एक व्यवसायी । शाक्यले नै भैरहवामा रहेको ह्वाइट लोटस नामको होटल मोटो कमिसन लिएर श्रेष्ठलाई किनाएको श्रेष्ठ निकट स्रोत बताउँछ । शाक्यकै समूह र ती महिलाको गलत सूचना तथा प्रभावमा परेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाएको प्रहरी स्रोत नै दावी गर्छ ।
श्रेष्ठको सम्पत्तिलाई कौडीको भाउमा हडप्नका लागि अहिले प्रहरीदेखि अदालतसम्मलाई यहि समूहले दुरुपयोग गरेको आरोप लागिरहेको छ । श्रेष्ठलाई पक्राउ गरी शुरुमा अभद्र व्यवहारमा म्याद थप्नु, त्यसपछि क्रिप्टो कारोबारको आरोपमा बद्नाम गराउनु र अन्तिममा बैंक तथा वित्तिय अपराधमा म्याद थप गरी राष्ट्र बैंक ऐन अन्तर्गत मुद्दा दायर गरिनु पनि प्रहरीमाथि शंका गर्ने प्रशस्त आधार हुन् ।
Leave a Reply