काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मानव अधिकारको उच्च सम्मान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको उद्घाटन गर्दै महानिरीक्षक सिंहले यस्तो बताएका हुन् ।
आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला प्रदान हुने उनले बताए । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले आग्रह समेत गरे ।
अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको प्रहरी महानिरीक्षक सिंहले बताए । प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उनले बताए ।
उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गरे ।
Leave a Reply