Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • कोरोनासँगै आयाे अम्फान, बङ्गलादेश र भारतमा ८४ को मृत्यु

    कोरोनासँगै आयाे अम्फान, बङ्गलादेश र भारतमा ८४ को मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । भारत र बंगलादेशमा आएको विनाशकारी आँधीका कारण अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ । सन् १९९९ देखि अहिलेसम्मको सबैभन्दा बढी विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ ।

    आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रुख बोट विरुवाहरु पनि नष्ट भएका छन् ।



    भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित क्षेत्रमा विद्युत, पानी, सञ्चारलगायतका सेवाहरु पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् ।



    संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधीबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ । घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ ।

    अधिकारीहरुले दिएको जानकारी अनुसार भारतको पश्चिम बङ्गाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिए । उनले भने, “यति ठूलो र विनाशकारी आँधी मैले अहिलेसम्म देखेकी थिइन ।”

    आँधीको प्रभाव परेको बङ्लादेशमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मौसम पुर्वानुमान राम्रो भएकाले लाखौ मानिसलाई उद्धार गर्न सफल भएको र मानवीय क्षति कम भएको उनीहरुको भनाई छ ।

    बङ्लादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरहरुमा राखिएको छ । जवकी भारतमा छ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरेको छ ।

    आँधीका कारण कम्तीमा पनि एक करोड मानिस विद्युत सेवाबाट बाहिर रहेको बंगलादेशका ग्रामिण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिए ।

    “आँधीका कारण अनगिन्ती विद्युत पोलहरु ढलेका छन्, ट्रान्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असिमित रुखहरु ढलेका छन्,” उनले भने ।

    सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा रहेका छन् । कोरोनाभाइरसको त्रासमा रहेकै बेला विनाशकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन् ।

    कोरोनाभइरसको त्रासकै कारण उद्धार तथा व्यवस्थापन कार्यमा पनि अरु बेलाभन्दा बढी कठिनाई भएको उद्धार कार्यमा सम्लग्न अधिकारीहरुले जनाएका छन् । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार