लमजङ । लमजुङको सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जिल्लाको सुन्दरवजार नगरपालिका-१, कुन्छाकी २८ वर्षीया लिला अछामीलाई जबरजस्ती करणी गरी हत्या गर्ने सोही ठाउँका २४ वर्षीय राम सुनार पक्राउ परेका हुन् ।
१० गते मंगलबार साँझदेखि बेपत्ता भएकी लीलाको स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा बिहीबार दिउँसो घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा शव फेला परेको थियो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही स्थानका सुनार र अछामीबीच विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको पाइएको छ । बोल्न नसक्ने र कान पनि नसुन्ने अछामी लेख्न र सांकेतिक भाषामा कुरा गर्न जान्दथिइन् ।
सुनारले मंगलबार राति भेट्न बोलाई युवतीसँग शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्धपछि युवतीले आफूसँग विवाह गर्न भनेपछि सुनारले हत्या गरेका बताइएको छ ।
लीलाको शवकोे जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टमपश्चात् दाहसंस्कारका लागि आफन्तले जिम्मा लिएका छन् । लमजुङ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply