काठमाडौं । सोमबार प्रहरीले कल सेन्टरको नाममा ठगी धन्दा सञ्चालन गरेको आरोपमा तिनकुनेस्थित स्काइ वल्र्ड कल सेन्टरमा छापा हान्यो । कल सेन्टरबाट एक चिनियाँ, केही भारतीय र नेपाली सहित ३६ जनालाई पक्राउ गर्यो । अवैध गतिविधि र कारोबार भएको आशंकामा प्रहरी छापा मारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत नगर प्रहरी कार्यालय, प्रहरी बृत्तहरुसमेतबाट खटिएको प्रहरीले कल सेन्टरमा छापा हानेको थियो । अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधी गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गर्यो ।
कल सेन्टरमा चिनियाँ लगानी रहेको प्रहरीको अनुमान छ । उक्त कल सेन्टरका मुख्य योजनाकार चिनियाँ नागरिक हुयु युह्या हुन् । यस्तै अन्य पक्राउ पर्नेमा भारतीय नागरिक मनोज शैनी र नेहा गुप्ता, नेपाली नागरिक पुरुष २८ जना र महिला ५ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले नगद ८ लाख २९ हजार रुपैयाँ, ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान, एउटा डिभिआर बरामद गरेको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस्तै आइतबार पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले कल सेन्टरको नाममा ठगी धन्दा सञ्चालन गरेको आरोपमा ब्लु स्काई बिजनेश सोलुसन प्रालिमा छापा हानेको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित उक्त कल सेन्टरमा छापा हानेको प्रहरीले एक भारतीय नागरिकसहित ९ जना मुख्य योजनाकार भएको भन्दै पक्राउ गर्यो भने करिब २ सय कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ प्रक्रिया अघि बढायोएको छ । पछिल्लो समय कल सेन्टरमा चिनियाँको बिगबिगी बढेको प्रहरीले जनाएको छ ।
Leave a Reply