काठमाडौं । नेपालले आज जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सालाई भारतले विज्ञप्ती जारी गर्दै मान्य नहुने वताएको छ ।
भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताएका थिए ।
नेपालले औपचारिक रुपमा बुधबार नक्सा सार्वजनिक गरेसँगै भारतले प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले विज्ञप्ती जारी गर्दै भनेका छन् ,’नेपाल सरकारले आज जारी गरेको अद्यावधिक आधिकारिक नक्सामा भारतको भूमि पनि समावेश गरेको छ । यो एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो।’
भारतले त्यसलाई स्विकार नगर्ने पनि जनाएको छ । ’नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित कार्टोग्राफिक दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं। हामी आशा गर्दछौं कि नेपाली नेतृत्वले सीमा क्षेत्रका समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।’
विज्ञप्तीमा भनिएको छ । नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने श्रीवास्तवले बताएका छन् ।
Leave a Reply