काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ ।
मन्त्रालयले बुधवार सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या समाधानबारे छलफल गरेको हो ।
सो अवसरमा श्रममन्त्री शेरबहादुर कुँवरले मातहतका कार्यालयले अनलाइनबाट सेवा प्रवाहको थालनी गरिसकेको अवस्थामा उक्त सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरे । उनले प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज ढंगबाट सेवाग्राहीसँग पुग्ने गरी काम गर्न निर्देशन दिए ।
‘कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व हो,’ उनले भने, ‘सबै सेवाग्राहीलाई सरकार भएको अनुभूति हुने गरी काम गर्नुस् ।’
प्रविधिको विकाससँगै सेवा प्रवाहमा सहजीकरण भइरहेको जनाउँदै उनले नयाँ प्रविधि प्रयोग गरी जनतालाई सुविधा दिन मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए ।
वैदेशिक रोजगार कार्यालयले अहिले अनलाइनबाटै सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्दै आएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिन थालेसँगै कार्यालयमा हुने भीड अन्त्य भएको छ ।
छलफलमा मन्त्रालयका सचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुलर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग लगायतका अधिकारीको सहभागिता थियो ।
Leave a Reply