काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलका प्रमुख तीन पद रिक्त भएका छन् । संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक गरी तीन वटा पद रिक्त भएका हुन् ।
दलको सचेतकको भूमिकामा रहेकी नेता पुष्पा भुसाल शुक्रबार प्रतिनिधिसभाको उपसभाुमखमा निर्वाचित भएपछि पार्टीको संसदीय दलका महत्वपूर्ण तीन वटै पद खाली भएका हुन् ।
सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार, प्रमुख सचेतकमा बालकृष्ण खाँण र सचेतकमा पुष्पा भुसाललाई मनोनयन गरेका थिए । कार्यकाल सकिन लाग्दा तीन वटै पद रिक्त भएका छन् ।
तत्कालीन पार्टी उपसभापतिसमेत रहेका गच्छदार प्रतिनिधिसभाको सदस्य पदबाट निलम्बित भएपछि २८ महिनादेखि उपनेता पद रिक्त छ । देउवाले गच्छदारलाई ०७४ फागुन २१ मा उपनेतामा चयन गरेका थिए । तर, ०७६ माघ २२ गते नै गच्छदार बालुवाटारको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको मुद्दामा सांसदबाट निलम्बित भएपछि देउवाले अरु कसैलाई सो पदमा नियुक्त गरेका छैनन् ।
त्यस्तै, एक वर्षदेखि कांग्रेसको प्रमुख सचेतक पनि खाली छ । प्रमुख सचेतक बालकृष्ण खाँणलाई देउवाले आफूले प्रधानमन्त्रीमा शपथ लिएकै दिन गृहमन्त्री बनाए । त्यसयता कांग्रेस प्रमुख सचेतक बिना नै संसद्मा भाग लिँदै आएको थियो । सचेतक भुसालले नै प्रमुख सचेतकको काम कारबाहीमा अग्रसरता लिने गरेकी थिइन् ।
तर, सचेतक भुसालले समेत उपसभामुखको जिम्मेवारी पाएपछि अब तीन वटै पद रिक्त भएका हुन् । संसदीय दलको विधानअनुसार संसदीय दलको नेतासँग आवश्यकता बमोजिम दलको उपनेता, प्रमुख सचेतक, सचेतक र सदस्य सचिव नियुक्त गर्न पाउने अधिकार छ ।
Leave a Reply