काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बिपरित लकडाउनको समयमा हिमालयन ह्वाइट हाउस वल्र्ड स्कुलले विद्यार्थी र अविभावकलाई वार्षिक शुल्क बुझाउन र पुस्तक किन्न दबाव दिएको छ ।
हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा अध्यक्ष एवं प्रिन्सिपल रहेको तीनकुनेस्थित हिमालयन ह्वाइट हाउसले अभिभावकलाई वार्षिक शुल्कबापत रकम तिर्न दबाब दिएका हुन ।
शनिबार कक्षा ७ सम्म भएको अनलाइन बैठकमा विद्यालयका निर्देशक नारायण काफ्ले र प्रिन्सिपल शर्माले अभिभावकलाई जसरी भए पनि वार्षिक शुल्क तिर्न दबाब दिएका थिए । विद्यालयले एक सातादेखि विभिन्न कक्षाका अभिभावकसँग अनलाइन बैठक गरेर एक साताभित्र शुल्क तिर्न दबाव दिँदै आएको स्रोतको भनाइ छ ।
विद्यालयले अभिभावलाई एक दुई दिनभित्र शुल्क तिर्न दबाब दिएको एक अभिभावकले वताए । विद्यालय प्रशासनले सबै अभिभावकलाई विद्यालयको खातामा जम्मा गर्न वा सामाजिक दूरी कायम हुने गरी विद्यालयमै आएर रकम तिर्न दबाव दिने गरेका छन्। ।
सबै कक्षाका विद्यार्थीसँग २० देखि ३० हजार रुपियाँ माग गरेको ती अभिभावकले बताए । सत्याल पब्लिकेसनको पुस्तक प्रयोग गर्दै आएको सो विद्यालयले विद्यालय नजिकै, विद्यालयमै वा ठेगाना दिएअनुसारका स्थानमा किताब पुर्याउने गरी पुस्तक लिन पनि दबाब दिएको छ ।
लकडाउनको समयमा विद्यार्थीसँग शुल्क लिए कारबाही गर्ने सरकारी चेतावनीको बेवास्ता गर्दै सो विद्यालयले हाकाहाकी रुपमा शुल्क तिर्न र पुस्तक खरिद गर्न दवाव दिएर सकारलाई नै चुनौती दिएको हो ।
चीनबाट मेडिकल सामग्री ल्याउँदा ओम्नी ग्रुपको प्रतिनिधि भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयसँग बिचौलियाको भूमिका खेलेको आरोप लागेका शर्माले लकडाउनको समयमा रकम उठाउनु खोज्नु सरकारको निर्देशनविपरीत देखिएको छ ।
शर्माले लकडाउन नखुलुन्जेलसम्म मासिक शुल्क नलिएर तत्कालका लागि वार्षिक शुल्क लिने गरी छलफल भएको वताउने गरेका छन् । ‘सरकारले कुनै व्यवस्था नगरेपछि के गर्ने भन्दै उनले विद्यार्थीबाट असुली धन्दा शुरु गरेको स्रोतको भनाइ छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले देशव्यापी कोरोना महामारी फैलन लागेको र आर्थिक गतिविधि प्रायः ठप्प भएको अवस्थामा कुनै पनि शिक्षण संस्थाले वार्षिक शुल्क उठाउन नहुने वताए।
उनले यो अवस्थामा शुल्क तिर्न कसैले दबाव दिएमा मन्त्रालयमा सम्पर्क राखेमा कारबाही प्रक्रिया अघि बढाउने पनि वताए ।
Leave a Reply