काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतसामू सत्यमेव जयते कि सिंहमेव जयते भन्दै प्रश्न गरेका छन्। उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर साेही उक्त कुरा टेकेर प्रश्न गरेका हुन् ।
यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता भएको उनले बताए । तर पछिल्लो समय जे लक्षण देखिएको छ, त्यसले सजिलो छैन भन्ने देखाएको भन्दै प्रधानमन्त्री ओलीले भारतलाई प्रश्न गरेका छन्, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताए । ‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भू-भाग फिर्ता लिइछाड्छौं’ उनले भने ।
उनले भने,’मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरिसकेको र केही दिनमै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितकाे नयाँ जारी हुने छ।’ नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा वि.सं. २०१८ सालसम्म जनगणना भएको र त्यहाँ बस्नेले नेपाल सरकारलाई तिरो तिर्ने काम भइरहे पनि त्यसपछि त्यहाँ जान रोकिएको बताए। सन् १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यसभन्दा पश्चिम जान रोकिएको उनले बताए।
प्रधानमन्त्रीले हाम्रो भूमि भारतले बेकारको अकुपाइँ गरेर आफ्नो बनाएकाे जिकिर गरे। कूटनीतिक सम्वादमार्फत नेपाली भूमि फिर्ता लिन सकिने सरकारको विश्वास रहेको उनले बताए ।
Leave a Reply