अछाम । हत्या आरोपमा मुछिएकी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मुद्दा नचल्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनामा तीनै जनाको संलग्नता भएको कुनै प्रमाण नभएको प्रतिवेदन फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामले आज जिल्ला अदालतमा अभियोग पत्रसहित महेन्द्र शाही, वीरेन्द्र बहादुर शाही, पृथ्वी बहादुर शाही र देवेन्द्र बहादुर शाही लाई उपस्थित गराएको थियो ।
उनका अनुसार १३ जना विरुद्धको जाहेरी मध्ये बाँकी रहेका ६ जना भने फरार सूचिमा रहेका छन् । गएको जेठ १७ गते अछामको पञ्चदेवल नगरपालिका–४ कालिकास्थानका १५ वर्षीय युवक विनोद शाही हत्या भएको थियो ।
Leave a Reply