काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् र स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो मृगौला प्रत्यारोपण उपचार सफल हुनेमा आफू शतप्रतिशत विश्वस्त रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बताए।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् र उनको भोलि बुधबार मिर्गौला प्रत्यारोपण गरिनेछ । मंगलबार सााझ अस्पताल पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीको भोलि बिहान नौ बजे त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मृगौला प्रत्यारोपण गरिँदैछ । मृगौला प्रत्यारोपणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड राति आठ बजे अस्पताल पुगेका थिए ।
त्यसैक्रममा प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण सफल हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् । करिब १५ मिनेटको भेटमा प्रचण्डले ओलीको सफल उपचार र स्वास्थ्य लाभको कामना गरेका थिए । ओलीको जवाफ थियो, ‘सफल उपचार हुन्छ भन्नेमा कन्फिडेन्ट छु । चिन्ता लिनु पर्ने स्थिति छैन ।’
केही साताअघि शल्यक्रिया भएको एपेन्डिसाइटिसको अवस्था पनि अहिले सामान्य रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसले गर्दा पनि मृगौला प्रत्यारोपणमा अनुकुलता थपिएको उल्लेख गरेका थिए । साथै उनले आफ्नो उपचारका लागि विदेशबाट समेत चिकित्सकहरू आइपुगेको जानकारी गराएका थिए ।
Leave a Reply