बाँके । भारतको मुम्बईबाट आएर बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान कोरोना पोजेटिभबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआइजी रवीन्द्र धानुकले मृतकको रिपोर्ट पोजेटिभ आएको भन्ने खबर आफूले पाएको अनलाइन नेपालसँग वताए।
रिपोर्ट पोजेटिभ आएको खबर सँगै कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्नु भन्ने निर्देशन मातहतलाई दिएको डिआइजी धानुकले वताए। उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका युवकको एक्कासि स्वास्थ्य असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताएका थिए ।
बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएपनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो ।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।
Leave a Reply