काठमाडौँ । घूस लेनदेनको अडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।
न्यायपरिषद्को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।
कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बुधबार बसेको थियो । बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएपछि बुधबार परिषद्को बैठक बसेको हो ।
Leave a Reply