काठमाडौं । प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय समितिले विवादित बनेको एसपीपीबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको भएपनि उनी अनुपस्थित भएर अपमान गरेको जनाएको छ ।
समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो ।
समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजे मात्रै प्रधानमन्त्री नआउने जानकारी आएको थियो । उनले प्रधानमन्त्री नआउने भए समयमै खबर गर्नुपर्नेमा खबर नहुनु अपमान भएको बताइन् ।
उनले भनिन्–‘समयमा खबर नगर्नु अपमान नै हो । हिजोसम्म खबर दिनुपर्ने हो । आज ८ बजे खबर दिनु त अपमान नै हो । बिहान ८ बजे सचिवलाई फोन गर्नुभएको हो । त्यसपछि मलाई जानकारी भएको हो । यसैले समितिको अपमान भएको हो ।’
प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका थिए ।
कांग्रेसकी सांसद पुष्पा भुसालले भने प्रधानमन्त्री देउवाको अनुपस्थितिबारेको प्रश्नमा जवाफ दिँदै अमेरिका भ्रमणबारे औपचारिक निर्णय नभइसकेको जानकारी गराइन् ।
उनले भनिन्–‘अहिलेसम्म अमेरिका भ्रमणबारे पत्राचार भएको छैन । फर्मल रुपमा निर्णय नभइसकेको अवस्थामा समितिमा बोलाउनुको अर्थ रहँदैन । यस कुरामा समितिलाई जानकारी गराउँछु भन्नु भएको छ । उहाँले भ्रमण तय भएपछि आउँछु भन्नुभएको छ । समितिको अपमान भयो भन्नुभन्दा पनि भ्रमण तय भएपछि उहाँ आउनुहुन्छ ।’
Leave a Reply