काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अन्य दलहरुसँग कुनै पनि विषयमा नीति नभएको जिकिर गरेका छन् । देशका नीति एमालेले तय गर्ने तर अन्य दलहरूले त्यसलाई तोडमडोर गर्ने गरेको उनको दाबी थियो ।
स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले ‘अन्य दलको राष्ट्रियताको विषयमा नीति के हो ? वैदेशिक सम्बन्धबारे नीति के हो ? वैदेशिक सहायता वा ऋणको सन्दर्भमा के हो ?’ भन्दै प्रश्न गरे ।
विभिन्न विषयमा अन्य दलले नीति बनाउन नसकेको तर एमालेका नीतिबारे टिका टिप्पणी गर्ने गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने–‘वैदेशिक सहायता र लगानीको सन्दर्भमा नीति के हो ? व्यापार नीति के हो ? छैन । हाम्रो नीतिमा टिका टिप्पणी गरेका छन् । ह्रस्व लेख्नु पर्नेमा दीर्घ लेख्यो, कमा दिनु पर्ने दिएन, फुलस्टप लगाउनु पर्ने लगाएन अनि यस्तो कुरा बनाउने हो । खासमा उनीसँग नीति पनि छैन । हामीले लिएको नीतिलाई कसरी असफल बनाउन सकिन्छ ? धाँजा कसरी फटाउन सकिन्छ ? त्यसलाई कसरी असफल बनाउने मात्रै नभएर विकृत रुपमा व्याख्या गर्न सकिन्छ त्यसमै लागेका छन् ।’
उनले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिक सम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोडर गरेर विकृत पार्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म कहिल्यै निर्वाचित प्रधानमन्त्री नबनेको दाबी गरे । अहिलेसम्म पाँच पटक देउवा जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री बनेको उनको दावी थियो ।
ओलीले भने–‘पार्टीभित्रको जालझेल होस् की, देशभित्रको जालझेल होस्, संसदभित्रको जालझेल होस् की अदालतमा पुगेर हुने जालझेल होस् । जालझेल र तिकडमबाट मात्रै अहिलेसम्म शेरबहादुरजी प्रधानमन्त्री हुनुभा छ ।’
शेरबहादुर देउवा निर्वाचनबाट जितेर फ्रेस प्रधानमन्त्री कहिल्यै नबनेको बताउँदै उनले भने–‘पाँच वर्ष हामीले काम गर्न पाउने हो भने अरू कसैले पनि साइनबोर्ड राख्ने स्थिति भएन । त्यस कारण आतंकित भएर मुद्दा मामिलामा गएर कांग्रेसले प्रधानमन्त्री जितेर ल्यायो । अहिले पनि शेरबहादुरजीले जितेर ल्याउनुभयो । २०५२ साल भदौ १२ गते पनि जितेर ल्याउने उहाँ नै हो ।’
Leave a Reply