काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन् ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व रक्षामन्त्री समेत रहेका रावलले एसपीपीबारे फरक-फरक निकायबाट फरक-फरक कुरा आएकाले यसको छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् ।
‘एक समय सम्झौता गरेको भन्ने, अर्को बेला होइन भन्ने यस्ता कुराले हाम्रो विश्वासनियतामा आँच आउँछ,’ रावलले भने,‘अमेरिकाले यसलाई आफ्नो इन्डो-प्यासेफिक स्ट्राटेजीको अंग भनेको छ। हामी होइन भन्छौं। यो सम्झौता कहिले, कसले गर्यो ? समिति बनाएर छानबिन गरौं।’
यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपीलाई नकोट्याउन गरेको आग्रहको रावलले विरोध गरेका छन् । ‘परराष्ट्रमन्त्रीले एसपीपी नकोट्याउँ भन्नुभएको छ त्यस्तो भन्न मिल्दैन । यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो‚’ उनले भने‚ ‘संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ ।’
नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताए ।
Leave a Reply