काठमाडौं । सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठक निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले जापानी येन ३७६ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए ।
यस्तै मन्त्रिपरिषद्ले नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
सार्वजनिक खरिद पुनरावलोकन समिति अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गर्दै समिति अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ ।
यस्तै एपीजी (एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङ)को २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाललाई रातमाटे
सबस्टेशन निर्माण गर्न नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै बैठकले २०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने नाइन्टी सेकेन्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेन्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
यस्तै असार ६ देखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लूसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअस कोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृति दिने, २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान द्विपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने, नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिस इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने पनि निर्णय भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरुमध्येबाट प्रा। सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाका लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।
सरकारले दक्षिण कोरियाको सोलमा असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिजम इन्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सोल इन्टरनेसनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
Leave a Reply