अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो।
‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने।
जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कुच्चीको भिरको खोँचमा उनको शव फेला परेको थियो।
मृतक किशोरका आफन्तले काँग्रेसको योजनाअनुसार हत्या भएको आरोप लगाएका छन्।
Leave a Reply