काठमाडौं । मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।
सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । हिजो विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको थियो भने गाउँनै शोकमा डुबेको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको जानकारी दिए ।
स्थानीय, सेना र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको उनले बताए । अहिले नेपाली सेना र फिस्टेलको हेलिकोप्टर पनि पुगेको छ ।
Leave a Reply