काठमाडौं । एउटै बुबाका दुई छोराले गाउँपालिकाको प्रमुखमा चुनाव जितेको भन्दा पत्यार नलाग्न सक्छ । तर धनकुटा र ओखलढुंगामा यस्तै भएको छ । फरक–फरक
पार्टीको राजनीतिमा लागेका एउटै बुबाका चार छोरामध्ये तीनले जित हाँसिल गर्दा एक जना भने पराजित भएका छन् ।
जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक फरक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
दाजु जीतेन्द्र रुम्दाली (राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् ।
जीतेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन् । ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।
गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभन्ज्याङ गाउँपालिकामा जित हाँसिल गरेका हुन् । उनीहरूका भाइ दीपेन्द्र रुम्दालीले मानेभन्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रलाई नेपाली कांग्रेसकी आश्राचन राईले पराजित गरेकी हुन् ।
Leave a Reply