काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले नेपालभर इन्टरनेट सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले असहयोग गरेका कारण अर्को हप्तादेखि इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो ।
‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर लागिरहेको आभास हामीलाई भएको छ, किनभने विगत ६ महिनादेखि इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायबाट भइरहेको छ ।
निजी क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरुत्साहित गरी सिध्याउन खोज्ने प्रवृत्तिको विरोध गर्दै चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्नेछ’, आइस्पानले विज्ञप्तिमा भनेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानको भनाइ छ ।
Leave a Reply