Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रुखको विरुद्धमा मेरो उम्मेदवारी होइन, रूखमै मत हाल्न पाउनुपर्छ भन्दा उल्टै कारबाही गरियो : पौडेल

    रुखको विरुद्धमा मेरो उम्मेदवारी होइन, रूखमै मत हाल्न पाउनुपर्छ भन्दा उल्टै कारबाही गरियो : पौडेल

    सत्ताको लोभमा माओवादीसँग गठबनधन गरेर हुकुम लादे : सापकोटा

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.4K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बन्दा पार्टीको कारबाहीमा परेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी रुखको विरुद्धमा नभएको दोहोर्याएका छन् ।

    नेपाली कांग्रेसको असन्तुष्ट कार्यकर्ताको नेतृत्व गर्दै मेयरमा उम्मेदवारी दिएका पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएसँगै चुनावी अभियान समेत सुरू गरिसकेका छन् ।



    शनिबार भरतपुरस्थित क्यान्सर अस्पताल परिसरमा रहेको बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेर उनले चुनावी अभियान सुरू गरेका हुन् ।



    नेपाली कांग्रेसका चारतारे झण्डाको साथमा बिपी कोइरालाको शालिक अगाडि उभिएर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथले कांग्रेसमा देखिएको विकृतिविरूद्ध एक भएर लड्न कार्यकर्ताहरूलाई आह्वान गरे।

    उनले भने–‘पार्टी विसर्जनमा पर्‍यो, रूखमाथि अन्याय भयो। रूखमै मत हाल्न पाउनुपर्छ भन्दा म कारबाहीमा परें। मैले कांग्रेसको विरूद्धमा, रूखको विरूद्धमा उम्मेदवारी दिएको छैन । म ५० वर्षदेखि निष्ठापूर्वक कांग्रेसको सेवा गर्दै आएको छु। कांग्रेस पार्टीभित्र झाँगिँदै गएको विकृतिविरूद्ध एकसाथ लडाइँको मोर्चामा उभिन आह्वान गर्छु।’

    पौडेलले आफूले हिँडेको बाटो नै भोलिको मूल बाटो भएको दाबी गर्दै कांग्रेसबाट निर्वाचित सबैले सहयोग गर्ने आशा व्यक्त गरे। उनले भने–‘अपवित्र गठबन्धनबाट मुक्ति पाइँदैन, विकास समृद्धि र लोकतन्त्र सुदृढ हुँदैन । ऐक्यबद्ध भएर लाग्नुहोला प्राविधिक कारणले बाहिर देखिन नमिले मन वचनले लाग्नु होला।’

    उनले कांग्रेसले गरेको गठबन्धनले लोकतन्त्रको भविष्य खतरामा दाबी गर्दै त्यसमा संलग्न नहुन भरतपुरका कार्यकर्ताहरूलाई आग्रह गरे। महानगरपालिकाका २९ वटै वडामा विग्रह खडा गरेर निर्वाचनको प्रचार सुरू गर्ने उनले बताए।

    बिपीको शालिकलाई साक्षी राखेर भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने संकल्प गरेको उनले बताए। पौडेललाई मेयर बन्न प्रस्ताव गरेका कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले पार्टीको कारबाहीले आफू विचलित नभएको बताए।

    उनले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु लोकतन्त्र भएको भन्दै पार्टीले सत्ताको लोभमा माओवादीसँग गठबनधन गरेर हुकुम लादेको आरोप लगाए। लौरो टेक्दै पाटी कार्यालय पुगेका ८४ वर्षिया सापकोटाले कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी नेतृत्वलाई चुनौती दिए।

    सयौं कार्यकर्ता सहभागी भेलाले भरतपुर नगरपालिका हुँदा उपमेयर बनिसकेका पूर्वसांसद जगन्नाथ पौडेललाई मेयरको उम्मेदवार बनाउने घोषणा गर्‍यो। यो प्रस्ताव सापकोटाले नै राखेका थिए।

    पूर्वसांसद भीमबहादुर श्रेष्ठले राजनीति सेवा हो भन्ने प्रतिबद्धताका साथ बिपी कोइरालाको अगाडि उभिएर विचलित नहुने कसम खाएको बताए।

    शुक्रबार उम्मेदवारी फिर्ता नगरेपछि मेयरका उम्मेदवार पौडेल, प्रस्तावक सापकोटा र समर्थक कांग्रेसकी महासमिति सदस्य मिना खरेल स्वतः निलम्बनमा परेका छन्।

    पाँच दलीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनेगरी भागबण्डा गरेपछि नेपाली कांग्रेस चितवनमा ठूलो असन्तुष्टि देखिएको थियो। त्यो असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएका थिए।

    उनको उम्मेदवारी फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका प्रभावशाली मन्त्रीहरू नै सक्रिय भएका थिए। तर पौडेल उम्मेदवारी फिर्ता लिन नसक्ने अडानमा थिए।

    कांग्रेसका सभापति शेरबहादुर देउवाको दूत बनेर भरतपुरमा ४४ घण्टा बिताएका गृहमन्त्री बालकृष्ण खाणले जगन्नाथलाई मनाउन सापकोटालाई उनकै निवास बेलचोकमा पुगेर आग्रह गरेका थिए। तर सापकाटाले गृहमन्त्रीलाई त्यसो गर्न नसकिने भनेर फर्काइदिए।

    भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार