काठमाडौ । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन गृहमन्त्री बालकृष्ण खाँडले विभिन्न प्रस्ताव गरेको खुलेको छ ।
दुई दिनसम्म चितवन बसेर रहेका गृहमन्त्री खाँण र राज्यमन्त्री उमेश श्रेष्ठले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका पौडेललाई विभिन्न आश्वासन दिएर फिर्ता गराउन खोजकाे खुलेकाे हाे ।
सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल पराजित हुने अवस्था आएपछि गृहमन्त्री खाँड आफै पौडेललाई फकाउन दुई दिन चितवनमै बसेका थिए । खाँडमाथि अध्यक्ष प्रचण्डको पनि दबाब रहेको बुझिएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विशेष दूत बनेर बुधबार भरतपुर पुगेका गृहमन्त्री खाँड विद्रोही उम्मेदवार पौडेल, उनका प्रस्तावक र समर्थक मिना खरेल र जिल्ला विकास समिति चितवनका पूर्व सभापति कृष्णलाल सापकोटालाई विभिन्न आश्वासन दिएर केही बेर अघिमात्रै काठमाडौं फर्किएका हुन् ।
गृहमन्त्री खाँडले बागी उम्मेदवार पौडेललाई राजदूत बनाउनेदेखि करोडौ पैसाको अफर गरेको स्रोतको दावी छ । त्यसैगरी गृहमन्त्री खाँडले पौडेलका प्रस्तावक मिना खरेललाई राष्ट्रिय योजना आयोगको सदस्य र समर्थक सापकोटालाई समानुपातिक सांसद बनाउने आश्वासन दिएको पनि स्रोतले बतायो ।
प्रचण्डपुत्री रेणु दाहाललाई सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएको छ । तर, सत्तारुढ दल नेपाली कांग्रेसकै पूर्व सांसद पौडेलले बागी उम्मेदवारी दिएपछि दाहालको जीत अनिश्चितप्रायः छ । त्यसैले पनि माओवादी केन्द्र र कांग्रेसका केन्द्रीय नेताहरु पौडेललाई कुनै पनि हालतमा ‘ब्याक’ गराउन लागि परेका छन् ।
तर, पौडेलले गृहमन्त्री खाँडको आश्वासन र प्रस्तावलाई अस्विकार गरेपछि माओवादी केन्द्रभित्र पनि हलचल मच्चिएको छ । पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री खाँडलाई निर्वाचन आयोगले भने कारबाही गर्ने संकेत गरेको छ ।
बिहीबार नियमित पत्रकार सम्मेललमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक सञ्चार माध्यममा आएका कुराहरु आयोगले अनुगमन गरिरहेको र गृहमन्त्रीको भ्रमणप्रति ध्यानाकर्षण भएको बताएका थिए।
Leave a Reply