काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा आफूसँग असहमत भएकाहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको बताएका छन् ।
बुधवार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै डा. कोइरालाले कयौं नेता कार्यकर्तालाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेक जालझेल मुद्दामा फसाएर राजनीतिक हत्या गर्ने षडयन्त्र भएको आरोप लगाएका हुन् । उनले पार्टीभित्र रहेका यस्ता गलत कार्यहरूको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।
टिकट वितरणमा पार्टीले न्याय गर्न नसक्दा जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य-पद्धति र आदर्शप्रति समर्पित नेता कार्यकर्ता अन्य पार्टीमा ओत लाग्न पुगेको उनको भनाइ छ । स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य नेता कार्यकर्तालाई उनले कांग्रेसको मुल प्रवाहमा फर्किन आग्रह गरेका छन् ।
‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्’, विज्ञप्तिमा उल्लेख छ ।
‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्,’ उनले भनेका छन्,‘पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ ।’
Leave a Reply