काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने भएको छ । आयोगले हिजो उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।
हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो । भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।
आयोगका अनुसार ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
Leave a Reply