काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेसम्म उम्मेदवार उपर उजुरी दिन सकिनेछ ।
मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।
हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछन्।
आयोगले बैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्नेछ । पर्सि १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
१६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
Leave a Reply