काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर दुई लाख ७६ हजार २१५ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका ४० लाख १२ हजार ७७० जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १३ लाख ८५ हजार १२३ जना भने उपचारपछि निको भएका छन् ।
अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन् ।
अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३१ हजार २४१ जनाको मृत्यु भइसकेको छ भने २ लाख ११ हजार ३६४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।
यस्तै, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, इरानमा ६ हजार ५४१, बेल्जीयममा ८ हजार ५२१, जर्मनीमा ७ हजार ५१०, नेदरल्याण्डमा ५ हजार ३५९, टर्कीमा ३ हजार ६८९, स्वीजरल्याण्डमा १ हजार ८२३, ब्राजिलमा १० हजार १७ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १०२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply