Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लिपुलेकमा भारतको सडक: स्थानीय प्रशासन र बासिन्दा चकित

    लिपुलेकमा भारतको सडक: स्थानीय प्रशासन र बासिन्दा चकित

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 4.3K
    SHARES

    दार्चुला । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् ।

    गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम सडक बनाइरहेको थियो । माल्पा र बुदीको बीचमा कडा चट्टानी भूभागमा सडकको यता र उता ६ ठाउँबाट मेसिनले कटिङ भइरहेको थियो । लिपुलेकबाट बुदीसम्म एक वर्षअघि नै सडक बनेको थियो ।



    बुदीबाट लिपुलेकसम्म ३६ किलोमिटर दूरी छ । बुदीबाट कालापानी २७ किलोमिटर र सीतापुल १० किलोमिटरको दूरीमा छ । माल्पा र बुदीको ९ किलोमिटर क्षेत्रमा दुवैतर्फबाट निर्माण गत वर्षबाटै सुरु भएपछि करिब एक महिनाअघि सडक जोडिएको व्यासका स्थानीयले बताएका छन् ।



    देशकै त्रिदेशीय सीमा नजिक व्यास गाउँपालिका २ दुम्लिङमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज रूपसिंह सावदका अनुसार भारतले लिपुलेक सडक उद्घाटन गरेको यहाँ कसैलाई थाहा छैन । ‘लकडाउनका कारण भारतीय सुरक्षाकर्मीसित समन्वय हुन सकेको छैन, २५ दिनअघि माल्पा बुदी खण्डमा सडक जोडिएको सुनिएको थियो,’ उनले भने, ‘बुदी बजारको घट्टेखोलामा पुल हाल्न बाँकी थियो । त्यसमाथिको लिपुलेकसम्म पहिले नै सडक निर्माण भइसकेको थियो ।’

    चीनको सीमासित सडक जोडिएको लिपुलेक व्यास गाउँपालिका १ मा पर्ने भए पनि नेपालीको पहुँच बाहिर छ । धेरै अघिदेखि भारतका उच्च सुरक्षा निगरानीमा रहेको गुन्जीभन्दा माथिको भागमा नेपाली नागरिकले जान पाउँदैनन् । २४ किलोमिटर कालापानीयता छियालेकमाथिको क्षेत्रमा भारतीय नागरिकले पनि धार्चुला तहसिल कार्यालयका उपजिल्लाधिकारीले जारी गरेको पास भएपछि मात्र जान पाउँछन्

    नेपालबाट जाने बाटो नहुँदा व्यासका स्थानीय पनि भारतीय उपजिल्लाधिकारीले जारी गरेको पासले नै छियालेकमा ‘इन्ट्री’ गराएपछि सुरक्षाकर्मीले अगाडि बढ्न दिन्छन् । छियालेकबाट ६ किलोमिटर हिँडेर सितापुलबाट नेपाल प्रवेश गर्न पाइन्छ ।

    सन् १९९९ मा सुरु भएको ९५ किलोमिटर तवाघाट लिपुलेक सडक खण्ड निर्माण २०२० मा पूरा भएको भारतीय सञ्चार माध्यमले बताइरहेका छन् । तवाघाट दार्चुला सदरमुकामपारि धार्चुलाबाट १६ किलोमिटरमा पर्छ । तवाघाटबाट गर्भाधारसम्म दुई लेनको सडक बनेको र गर्भाधारमाथि एक लेनको ट्रयाक खोलिएको छ । त्योभन्दा माथि दुई लेन सडक बनाउने काम पनि सँगै चलिरहेको व्यास गाउँपालिका २ दुम्लिङका देवेनसिंह बुढाथोकीले बताए ।

    अहिले नेपालतर्फ दुम्लिङभन्दा माथि मानिसको उपस्थिति छैन । मंसिर सुरुमै व्यासका स्थानीय बेंसी झरेका थिए । उनीहरू आउनु एक साताअघि नै व्यासको प्रहरी चौकी दुम्लिङ झरेको थियो । व्यासको उक्त चौकी अहिले पनि दुम्लिङमै छ । व्यास जाने बाटो नहुँदा दुम्लिङमाथि के भइरहेको छ भन्ने नेपाली पक्षलाई थाहै छैन ।

    विगतमा व्यासका बासिन्दा वैशाख पहिलो साता गाउँ फर्कन्थे । यो वर्ष लकडाउनका कारण माथि उक्लन पाएका छैनन् । ‘स्थानीय व्यास पुगेपछि मात्र माथि जाने नेपाल प्रहरी स्थानीय नै नगएपछि जाने कुरा आउँदैन,’ उनले भने ।

    व्यासका स्थानीय जितसिंह बोहराका अनुसार सन् २०१५ मा चीन र भारतबीच भएको लिपुलेक नाकाबाट व्यापार विस्तार गर्ने सहमतिपछि लिपुलेक सडक निर्माणले तीव्रता पाएको हो । नेपाली भूमि लिपुलेकमा भारत चीनबीच व्यापारिक नाका खोल्ने सम्झौता भएपछि एक/दुई साता नेपाली भूमिमा नसोधी सम्झौता गरेको कुरा उठ्यो, पछि सबै सेलायो । ‘भारतले त्यहीँबाट लिपुलेक नाका जोड्न तल र माथिबाट सडक निर्माणलाई ५/६ खण्डमा विभाजन गरेर ट्रयाक खोलिसकेको छ, हामी हेरेको हेरै छौं । हामीले व्यास जाने घोडेटो मर्मत गर्न नसकेर भारतीय बाटो प्रयोग गर्नुपरेको छ,’ उनले भने ।

    भारतले सीमामा सडक निर्माण गरिरहेको बारे कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरी टोली त्यो क्षेत्र गएको पनि थियो । गत फागुन ४ गते दार्चुला महोत्सव उद्घाटन गर्न आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले फागुन ५ मा व्यास क्षेत्रको हवाई निरीक्षण गरेका थिए । मन्त्री पोखरेलले बीओपी राख्ने जग्गा निरीक्षणका क्रममा छाङरुसम्म हेलिकप्टरमा पुगेका हुन् । सदरमुकाम फर्केपछि मन्त्री पोखरेलले आकाशबाट सडक निर्माण भइरहेको बारे केही देख्न नसकेको बताएका थिए ।

    भारतले एकतर्फी रूपमा सडक संरचना बनाइरहेको र महाकालीमा काठे पुल हालेर अवैध वारपार गरिरहेको बारे कान्तिपुरमा लगातार समाचार छापिएपछि प्रहरी टोलीसमेत गएको थियो । प्रहरीले भारतले सडक खनिरहेको क्षेत्रमा वारपार गर्न राखेको काठे पुल हटाएको थियो । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार