काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले राजनीतिक दलसँग परामर्श नगरिकन आचारसंहिता लगाइएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ दल र सरकारसँग मात्र सल्लाह गरेर निर्वाचन आयोगले आचारसंहिता लगाएको दावी गरे ।
सत्ताबाहिरका विपक्षी दलसँग परामर्श नगरिकनै निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न दललाई दबाब दिइएको पनि उनले बताए । उनले बहुदल आएदेखि लगातार निर्वाचन लड्दै आएको बताउँदै आयोगले सत्तापक्षसँग मात्र सल्लाह गरेर पहिलो पटक निर्वाचन आचारसंहित ल्याइएको दाबी गरे।
प्रतिपक्षका दलसँग परामर्श गर्न आवश्यक नभएको भन्दै आयोगले दम्भपूर्ण अभिव्यक्ति दिएकाले एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहितामा हस्ताक्षर नगरेको ओलीको भनाई थियो ।
निर्वाचन आयोग कसैको पक्ष र विपक्षमा लाग्न नहुने बताउँदै उनले भने–‘हामी कानुन मान्छौं, हामी जालझेल, षडयन्त्र, तिकडम गर्दैनौं, कानुनको निर्माण सबैका लागि हुनुपर्ने र कुनै दल विशेषको हुनु हुँदैन।’
मनोनयन एक दिनले पुग्ने भएपनि गठबन्धनको समस्या मिलाउन आयोगले मनोनयन दुई दिन राखेको ओलीले दोहो¥याए । आयोगको भूमिका संशयपूर्ण भएको दावी गर्दै उनले निष्पक्ष हुनुपर्ने पनि बताए ।
कार्यक्रममा उनले जनतामा रहेको ‘क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त गर्दैनन्’ भन्ने कुरा पुष्टि हुँदै गएको दावी गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै राजनीतिक नेताहरूमा नातावाद, कृपावादको बारेमा यत्रो बहस भइराखेको अवस्थामा प्रचण्डले त्यसलाई मलजल गरेको बताए ।
उनले भने–‘देशमा क्रान्तिकारी हुँ भन्नेले त आफन्तबाहेक अन्य कोही नियुक्तै गर्दैनन भन्नेथ्योे । हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल ला राष्ट्रिय सभामा नियुक्त गरियो ।’
देशमा भएका संघर्षमा आन्दोलन गरेका, दुःख पाएकाहरूलाई छाडेर परिवारवादमा चुर्लुम्म डुब्नु दुःखद भएको उनले बताए । माओवादीले सञ्चालन गरेको जनयुद्धलाई उद्वरण गर्दै अध्यक्ष ओलीले भने–‘अपाङ्गता भएका व्यक्तिहरू छन । शरीरमा गोली लागेर हिडिरहेका व्यक्तिहरू छन् । जनयुद्धका नाममा ज्यान हत्केलामा राखेर मौकाले बचेका व्यक्तिहरू छन् । यि सबै व्यक्तिहरूलाई छोडेर अनादर गरेर, उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रिय सभा सदस्य बनाउने ?’
Leave a Reply