Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • सुक्खा पहिरोले पाइप बगायो, खानेपानीको समस्या

    सुक्खा पहिरोले पाइप बगायो, खानेपानीको समस्या

    रासस
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.3K
    SHARES

    बागलुङ । सुक्खा पहिरोका कारण बागलुङ बजारमा ल्याइएको खानेपानीको मुख्य पाइप नै बगाएपछि बजार क्षेत्रमा खानेपानीको समस्या भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको जिरेदीमा सुक्खा पहिरोले खानेपानीको मुख्य पाइप बगाएपछि बागलुङ बजार क्षेत्रमा खानेपानीको समस्या भएको हो । केही दिन पहिला बाढीसँगै आएको पहिरोले बगाएको पाइप मर्मतकै चरणमा थियो ।

    बुधबार मर्मत सम्पन्न गरेर पानी सञ्चालन गर्ने क्रममा माथिबाट आएको पहिरोका कारण पाइप पुनः बगाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । काँठेखोला गाउँपालिका–७ रेशमा रहेको भुँदीखोलाबाट बागलुङ बजारमा ल्याइएको पिउने पानीको पाइप वर्षासँगैको पहिरोले बगाएपछि अघिल्ला चार दिनदेखि बागलुङ बजारका अधिकांश स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । सञ्चालन गर्ने प्रयास हुँदाहुँदै सुक्खा पहिरोले दुःख दिएको शर्माले बताए।



    रेशको जिरेदीस्थित भुदीखोलामा निर्माणाधीन पक्की पुलमाथिबाट आएको सुक्खा पहिरोले पानीको मुख्य पाइप बगाएपछि बागलुङ बजारको उपल्लाचौर, वडारचौर र श्रीनगरटोललगायतका स्थानमा खानेपानीको समस्या भएको छ । संस्थाका कर्मचारीसहितको टोली निरन्तररूपमा खटिएर डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सकेर पाइप जडान गरेपछि पुनः सुक्खा पहिरो आएर पाइप बगाएको शर्माले जानकारी दिए ।



    “पाइप मर्मतका लागि प्राविधिकसहितको टोली परिचालन गरी काम अगाडि बढाइएको भए पनि मर्मत कार्य पूरा हुन एक साता लाग्ने छ”, प्रबन्धक शर्माले भन्नुभयो । “निर्माणकार्य जारी छ” उनले भने, “भुदीबाट ल्याएको पानी बजारमा आउन एक साता लाग्न सक्छ ।” पानी आउने मुख्य पाइप नै बगाएपछि पानी वितरणमा समस्या भएको उहाँको भनाइ छ । लकडाउनका कारण अधिकांश उपभोक्ता गाउँ गएको र बाँकी उपभोक्ताले आकासको पनि सङ्कलन गरेर काम चलाएको उनले बताए।

    खानेपानी आपूर्तिका लागि अस्थायीरूपमा पाइप जडान गरेर खानेपानी आपूर्तिमा सहज बनाउने प्रयास भइरहेको थियो । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भुदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट तीन दशमलव पाँच लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको छ । पहिरोले पाइप बगाएर पानी बन्द हुँदा बागलुङ बजारका चार हजार धारा प्रयोग गर्ने ३० हजारभन्दा धेरै उपभोक्ता प्रभावित भएका छन् ।

    तीन वटा मुहानबाट ल्याइएको पानी बजार क्षेत्रभित्र पर्याप्त नभएकोले काठेखोला मुहानबाट लिफ्ट सिस्टमबाट पानी ल्याउने कामसमेत संस्थाले अगाडि बढाएको छ । बागलुङ नगरपालिकाभित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले बागलुङ नगरपालिका–३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए। नयाँ योजनाबाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरी तयारी भइरहेको उनको भनाइ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार