Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • दलित भन्दै घरबेटीले अपमान र घर छोड्न दबाब दिएको विद्यार्थीहरुको आरोप

    दलित भन्दै घरबेटीले अपमान र घर छोड्न दबाब दिएको विद्यार्थीहरुको आरोप

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई दलित भएकै कारण घरबेटीले अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले उजुरी दिने घोषणा गरेका हुन ।कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरुको गुनासो छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको (सरकारी कर्मचारी) को घरमा डेरा गरी आफूहरु बसिरहेको उनीहरुले जानकारी दिए । उनीहरुले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् ।
    उक्त घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरुसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिईन् । उनले अघि भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गर्नुभएको थियो । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले तपाईहरु ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन्, र यही घरमा भाडामा बस्नेहरुले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिनुभयो ।’

    उनले आफूहरुलाई जातकै कारण कोठा छोड्नका लागि दबाब दिएको गुनासो पोखिन् । उनले भनिन्,‘मैले एक कार्यक्रममा मानवअधिकारवादीसँग यस्तो भयो भनेर गुनासो पोखेको थिएँ, त्यहीँबाट मानवअधिकारकर्मीले हाम्रो घरबेटीलाई फोन गर्नुभएको थियो, उहाँकाअनुसार अब हामीलाई बसुञ्जेलसम्म बस्न दिने भनेर घरबेटीले भन्नुभएको थियो र हामीलाई पनि परिचय दिएर बस्नुहोला भन्नुभयो ।’



    तर, एक्कासी घरबेटीले आफूहरुलाई विभिन्न बहाना देखाएर घर छोड्न दबाब दिएको पनि उनले गुनासो पोखिन् । उनले घरबेटीमात्रै नभएर त्यही घरमा भाडामा बस्ने अन्य सदस्यहरुले पनि घरबेटीसँग मिलेर आफूहरुमाथि अभद्र तथा गाली, बेईज्जति शब्द प्रयोग गरेको गुनासो पोखिन् । जातीय विभेद गरेर आफूहरुमाथि स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि कुण्ठित गरेको र बारम्बार मानसिक तथा मनौवैज्ञानिक दबाब दिएको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘हामी पढ्ने विद्यार्थीहरुमाथि यो ठूलो मानसिक यातना हो ।’



    आफूहरु कानूनी उपचारमा जाने उनीहरुले घोषणा गरिन् । उनले आजै प्रहरी प्रशासनमा उजुरी दिने पनि आफूहरुको तयारी रहेको बताईन् । उनले आफूहरुमाथि जातीय विभेद नगर्न पटक–पटक आग्रह गर्दापनि निजी घरबेटीले कुरै नसुनेको र अमानवीय व्यवहार गरेको गुनासो पोखिन् ।

    कार्यक्रममा कैलाली घर भई सोही घरमा बस्ने दिपाका समेत भाई रहेका राज नेपालीले आफूहरुमाथि २१औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो पोखे । आगामी दिनमा दलित भएकै कारण आफूहरुले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस भनेर मिडियामा यो कुरा लिएर आएको र कानूनी उपचारमा जान लागेकोपनि उनले स्पष्ट पारे ।

    उनले भने,‘घरबेटीले दिएको चरम यातनाको कारण हाम्रो पढाईमा अवरोध सिर्जना भयो । यसले विद्यार्थीको भविष्य अन्यौल बनाएको छ ।’ उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे । उनले आफूहरुमाथि घरबेटीले श्रृंखलावद्ध रुपमा घर छोड्न दबाब दिएको र जातीय विभेद गरेको गुनासो पोखे ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विपीन बिकले २१औं शताब्दीमा आएरपनि जातीय विभेद गर्नु गलत भएको भन्दै विद्यार्थीहरुमाथि जातीय विभेदन र यातना दिने घरबेटीलाई कारबाहीको माग गरे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार