काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने प्रतिबद्धता जनाएका छन् । शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र दोषी देखिएकालाई कारबाही गर्ने गृहमन्त्री खाँणले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चैत ४ गते फागु पूर्णिमाका दिन शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्र/छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी, तोडफोड र ढुंगामुढा गरेको थियो ।
उक्त अवस्था नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । र उनको उपचारको क्रममा मृत्यु भएको थियो । सोही घटनामा संलग्नको छानबिन गर्न गृहमन्त्री खाँणले प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दोषीलाई बारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा हानिँदा उनको निधन भएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । भने छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।
Leave a Reply