एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थालेको १८ औं दिनमा पोल्यान्डको सीमानजिकैको सैनिक तालिम केन्द्रमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले युक्रेनमाथिको आक्रमण थप बढाउँदै लगेको छ ।
आक्रमणमा तालिम केन्द्रमा निकै क्षति पुगेको र कम्तीमा ३५ जनाको ज्यान गएको युक्रेनी अधिकारीले बताएका छन् । १ सय ३५ जनाभन्दा बढी घाइते छन् । उक्त तालिम केन्द्रमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का केही प्रशिक्षकहरूले तालिम दिने गरेका थिए ।
त्यसैगरी रुसी फौजले पश्चिमी सहर इभानो–फ्रांकिभ्क्सस्थित विमानस्थलमा पनि आक्रमण गरेका बीबीसीले जनाएको छ । रुसी फौजले केही दिनयता युक्रेनको राजधानी किभलक्षित आक्रमण तीव्र पारेका छन् । किभभन्दा करिब २५ किलोमिटरको दूरीमा रहेको रुसी सेनाको ठूलो जत्थाले लगातारजसो क्षेप्यास्त्र प्रहार गरिरहेका छन् ।
खर्किभ, मरिउपोल, माइकोलेभ र सुमी सहर रुसी सेनाको घेराबन्दीमा छन् । ती सहरका बासिन्दा कठ्यांग्रिँदो चिसोमा विद्युत् र खानेपानीको आपूर्तिबिना बस्न बाध्य भएका बीबीसीले जनाएको छ । त्यसैगरी, निकोलेभ, निप्रो र क्रोपिभिन्टस्की सहरमा पनि रुसी सेनाले आक्रमण जारी राखेका छन् ।
Leave a Reply