काठमाडौँ । छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसंगै नेपाल आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार उनीहरु आगामी चैत्र १२ र १३ मा काठमाडौँ आउन लागेका छन्। मन्त्री वाङ नेपाल हँदै बंगलादेश जाने कार्यक्रम रहेको स्रोतको भनाइ छ।
मन्त्री वाङ परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा नेपाल आउना लागेका हुन् । हाल टर्की भ्रमणमा रहेका मन्त्री खड्का स्वदेश फर्कने वित्तिकै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत उनलाई निमन्त्रणा पत्र दिने बताइएको छ।
यसअघि चीनले सुरुमा नेपालका परराष्ट्रमन्त्री डा. खड्कालाई बेइजिङ भ्रमणमा आउन अनुरोध गरेको थियो । तर, पछि मन्त्री खड्काले नै नेपाल भ्रमणमा आइदिन आग्रह गरेपछि उनी भ्रमणका लागि तयार भएको बुझिएको छ।
वाङको भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको मन्त्रालय स्रोतले जनाएको छ। उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत प्रमुख पार्टीका शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
Leave a Reply