काठमाडौँ। फागुन महिनाको समाम्तिसँगै चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको दुई वर्ष बित्छ । यो अवधिमा नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फीरुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्पी व्यापार हुँदै आएको छ । अर्थात चीनबाट मात्र नेपालमा वस्तुहरु भित्रिएका छन् । नेपालबाट केही गएको छैन ।
नाका खुलाउन नेपालले पटक पटक अनुरोध गरेको छ तर चीनले कुनै चासो देखाएको छैन । कोरोना महामारी नियन्त्रण गर्ने वहानामा ती नाकाहुँदै नेपाली वस्तुको प्रवेशमा चीनले रोक लगाएको हो ।
‘चीनबाट नेपालतर्फ वस्तुहरु पठाउँदा कोरोना नसर्ने, नेपालबाट चीनतर्फ वस्तु पठाउँदा कोरोना सर्ने’ जस्तो कुतर्क गर्दै चीनले करिव दुई वर्षदेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ ।
प्रमुख दुई व्यापारिक नाका खुलाउने मुद्दामा नेपाल कति निरीह बनेको छ भन्ने कुरा सोमबार परराष्ट्रमन्त्री डा. नारायण खड्काको दिएको अभिव्यक्तिले स्पष्ट देखाउँछ । आफ्नो निरीहता लुकाउन उनले उल्टै चिनियाँ दादागिरीको ढाकछोप गर्नुपर्यो ।
‘चीनसँग नाका खुलाउने विषयमा धेरै पहल गरेका छौं । चीनका परराष्ट्रमन्त्रीसँग पनि माग गरेका थियौं । कोभिडकै कारण नाका बन्द भएको हो,’ परराष्ट्रमन्त्री खड्को भनाई थियो, ‘आर्थिक रुपमा अप्ठेरो भएको छ । हाम्रो निर्यात लगभग ठप्प जस्तै छ । कोरोना कम हुँदै जाँदा यो समाधान होला ।’
कोरोना महामारी सुरु भएपछि चीनले रसुवागढी र तातोपानी नाका एकतर्फी बन्द गरेको हो । विश्वमा पहिलो पटक कोरोना भाइरस २०७६ पुसको पहिलो साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
चीनमा कोरोना संक्रमण बढेपछि २०७६ माघ १५ गते गृह मन्त्रालयले तातोपानी र रसुवागढी नाकाबाट चिनियाँ पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । सुरुमा यो रोक १५ दिनको लागि भनिए पनि पछि समय थप गरिएको थियो ।
चीनले रोक नलगाउन दबाब दिइरहेका बेला नेपालले त्यसबेला चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । कोरोना संक्रमण झन् बढ्दै गएपछि २०७६ चैत ११ गते नेपालले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चीनले तातोपानी र रसुवागढी नाका एकतर्फीरुपमा बन्द गरेको थियो । त्यसयता यी नाका आजसम्म दोहोरो खुलेका छैनन् । राजधानी दैनिकमा खबर छ।
Leave a Reply