एजेन्सी । युक्रेनमा रुसी सेनाको निरन्तर आक्रमणकाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ । रुसी सेनाको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेका हुन् ।
गोलाबारीमा सर्वसाधारण मारिने क्रम बढ्दो छ। आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजिरहेका केही मानिसहरू मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्ता आक्रमणका लागि कहिल्यै क्षमा दिन नसिकने बताएका छन् ।
राष्ट्रपतिका एक सल्लाहकारका अनुसार आइतवार अबेर राति रुसी फौजले राजधानी किएभको बाहिरी भेगका साथै मारिऊपोल र दोस्रो ठूलो शहर खार्किभका आवासीय क्षेत्रहरूमाथि भीषण गोलाबारी गरेका छन्।
यसैबीच युक्रेनी राष्ट्रपतिले रुसका लागि ‘नो फ्लाई जोन’ अर्थात् हवाई उडानमा प्रतिबन्ध लगाउन आग्रह गरिरहँदा त्यसलाई लिएर अमेरिकी राजनीतिज्ञहरूबीच मतभेद देखिएको छ।
एकजना अमेरिकी सिनेटरले उक्त कदमले ठूलो खतरा निम्त्याउन सक्ने जोखिम औँल्याएका छन्। सिनेटको गुप्तचर समितिमा रहेका उच्च तहका रिपब्लिकन सिनेट मार्को रुबिओले नो फ्लाई जोनको अर्थ ‘तेस्रो विश्वयुद्धको शुरूवात’ हुने चेतावनी दिएका छन् ।
Leave a Reply