काठमाडौं । माओवादी केन्द्रले सरकारलाई अल्पमतमा पार्न लागेको सूचनाका आधारमा आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको खुलासा भएको छ ।
सरकार अल्पमतमा पार्न लागेको सूचना पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेर प्रतिनिधिसभाको बैठक स्थगित गर्न लगाएको खुलासा भएको हो ।
प्रतिनिधिसभाको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय थियो ।
एमालेका नेताहरुसँगको वार्तामा प्रधानमन्त्री देउवाले माओवादीका २८ जना सांसद उभिएर एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा मतविभाजन माग्ने र सरकारको प्रस्ताव अल्पमतमा पार्ने तयारीको सूचना आफूले पाएपछि बैठक स्थगित गरिएको बताएका छन् ।
प्रधामन्त्री देउवाले सभामुखलाई संसदको बिहीबारको बैठक सूचना टाँसेर रोक्न आग्रह गरेका थिए । अर्को बैठक भोलिका लागि बोलाइएको छ ।
Leave a Reply