कास्की । अभिनेता पल शाहविरुद्ध गायिका समीक्षा अधिकारीले आफूलाई ‘फकाएर’ जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
प्रहरी स्रोतका अनुसार बुधबार १७ बर्षिया गायिका अधिकारीले आफ्ना केही आफन्तहरुसहित तनहुँ जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दिएकी हुन्। उजुरीमा शाहमाथि प्रेमका नाममा बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको स्रोतको दाबी छ।
आइतबार मात्रै गायिका अधिकारी र अभिनेता शाहविचको अडियो संवाद सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा अभिनेता शाहले समीक्षासँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका थिए।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखेपनि त्यसलाई जबरजस्ती करणी भनिन्छ, त्यसमा संलग्नलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानूनमा उल्लेख छ।
अभिनेता शाहलाई जबरजस्ती करणीको मुद्दा चलाएमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यसअघि गायिका अधिकारीले आफू अन्यायमा परेको भन्दै आफूले एकदिन महाकालीको रुप सार्वजनिक गर्ने बताउँदै आएकी थिइन्।
के छ कानूनमा ?
नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’
उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।
दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।
यदि पीडितले पछि अदालतमा बयानमा फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्छिन् । यस्तो घटनामा अदालतले बयान फेर्ने पीडत नै सजाय दिन सक्छ ।
Leave a Reply