काठमाडौँ । पछिल्लो समय रुस र युक्रेनबीच तनाव बढेपछि तत्काल युद्व रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रह गर्दै प्रदर्शन गरिएको छ।
बुधबार नेपालस्थित रूसी राजदूतावास बालुवाटार अगाडि मानव अधिकार तथा शान्ति समाजले रूस-युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्व रोक, शान्ति प्रवर्द्धन गर भन्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रूसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो।
‘भर्खरै मात्र युक्रेन सन्दर्भमा रूसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ ।’रूसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा अगाडि भनिएको छ।
युद्वले लाखौं करोडौं मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्व हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गरिएको छ।
Leave a Reply