Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • महाशिवरात्रिमा धुनी जगाउन ३३ हजार किलो दाउरा

    महाशिवरात्रिमा धुनी जगाउन ३३ हजार किलो दाउरा

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।

    महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तको खाने, बस्ने एवं धुनीका लागि दाउराको व्यवस्था परम्परादेखि नै गुठी संस्थानले गर्दै आएको छ । यस वर्ष साधुसन्तका लागि धुनी जगाउन ३३ हजार किलो दाउराको व्यवस्था गरिएको संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले जानकारी दिएका छन् ।



    संस्थानले धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने जनाइएको छ ।



    संस्थानले साधुसन्तको बिदाइका क्रममा गत वर्षभन्दा पारदर्शीरुपमा काम गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्मा घिमिरेले बताए । गत वर्षसम्म एकै जना साधुले मेरो समूहमा ३० जना छन् भनेपछि समूहकै दक्षिणा दिइन्थ्यो । यस वर्ष भने स्थलगतरुपमा अनुगमन गरेर व्यक्ति, व्यक्तिलाई दक्षिणा दिने व्यवस्था मिलाइएको छ ।

    महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तलाई तहअनुसार दक्षिणा दिने व्यवस्था परम्परादेखि रही आएको छ । यस वर्ष संस्थानले वरिष्ठ महन्तसँग अन्तक्र्रिया एवं सम्मान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । यस्तो कार्यक्रम पहिलोपटक गर्न लागिएको संस्थानका अध्यक्ष भुसालले बताए ।

    कोरोना महामारी कम भएकाले यस वर्ष महाशिवरात्रिमा पशुपति क्षेत्रमा सात हजार साधुसन्त आउने संस्थानको अनुमान छ । थापाथली त्रिपुरेश्वर क्षेत्रमा जनकपुरस्थित रामजानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा सन्तहरु आएर बस्ने संस्थानले जनाएको छ ।

    महाशिवरात्रिका अवसरमा यस वर्ष थापाथली क्षेत्रको वैरागी अखडाले तीनदिने महायज्ञको आयोजना गर्ने भएको छ । जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा पहिलोपटक महायज्ञ गर्न लागिएको हो । यज्ञ फागुन १५ गते सुरु भई फागुन १७ गते महाशिवरात्रिका अवसरमा समापन गर्ने तयारी भएको छ ।

    थापाथली त्रिपुरेश्वर क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडामा आउने साधुसन्तका लागि संस्थानको केन्द्रीय कार्यालयले नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने भएको छ । यस क्षेत्रका अखडामा आउने साधुसन्तका लागि पनि संस्थानले परम्परादेखि नै खाने, बस्ने एवं धुनीको व्यवस्थापन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार