काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे यो खेल सुरु हुनेछ।
नेपालाई सेमिफाइनलमा पुग्न जित हात पारे पुग्नेछ। सानो अन्तरको हारले पनि नेपाल सेमिफाइनलमा पुग्नेछ । तर, क्यानडाको लागि भने माथिल्लो चरणमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ।
यसअघि नेपालले ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो भने क्यानडाले फिलिपिन्सलाई हराउँदा ओमानसँग भने पराजित भएको थियो। सोमबारको खेलमा जित हात पार्दै समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुग्ने नेपालको दाउ छ ।
सेमिफाइनलमा समूह ए र बीका विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा जित हात पार्ने टोली विश्वकपका लागि छनोट हुनेछ।
अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फाइनल पुग्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्व कपको लागि छनोट हुनेछन् ।
Leave a Reply