काठमाडौं । फ्रेण्ड्स क्लबसँग २–१ गोलअन्तरले पराजित भएपछि च्यासल युथ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलबाट घटुवामा परेको छ ।
शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको खेलबाट च्यासल रेलिगेसनमा पर्ने निश्चित भएको हो भने यो जितपछि फ्रेण्ड्सले भने रेलिगेसनको संकट टारेको छ ।
योसँगै च्यासल सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७८ बाट रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ । ठूलो चर्चा र सम्भावनाबीच लिगको सुरुआत गरेको च्यासलले १२ औं चरण आइपुग्दा माथिल्लो डिभिजनमा आफ्नो अस्तित्व बचाउन सकेन् । दशरथ रंगशालामा शनिबार भएको खेलमा च्यासल फ्रेन्ड्सको हातबाट २–१ ले पराजित भयो ।
पहिलो हाफमा गरेको दुई गोल सहयोगमा फ्रेण्ड्सले महत्वपूर्ण तीन अंक लिन सक्यो । जसका कारण उसले रेलिगेसनको संकट टारेको छ ।
लिगमा १२ खेलको समाप्तीमा च्यासलको ६ अंकमात्र छ । अन्तिम खेलमा जित निकाले पनि उसले रेलिगेसन टार्न सक्दैन थियो । दुई टोली बी डिभिजनमा घटुवा हुने यो लिगमा च्यासल पहिलो टिम बनेको हो ।
च्यासलले यस सिजन शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेको थियो । तर, सातदोबाटोविरुद्धको अन्तिम खेलअघि नै रेलिगेसनमा परेको छ । २०७३ मा ‘बी’ डिभिजन जितेर पहिलो पटक ‘ए’ डिभिजनमा उक्लेको च्यासलले २०७५ र २०७६ मा ‘ए’ डिभिजन लिग खेलेको थियो । लगातार तेस्रो सिजन शीर्ष श्रेणीको लिग खेलेपछि च्यासल पुनः घटुवा भएको छ । जितपछि फ्रेण्ड्सले १२ खेलबाट १० अंकसहित १२औं स्थानमा छ ।
फ्रेन्ड्सका जितमा जमोल एन्थोनीले दुई गोल गरे । उनले ३८ औं मिनेटमा पहिलो गोल गरेपछि ४३ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । खेलको ५६ औं मिनेटमा च्यासलले एक गोल फर्काएको थियो । मोसा अबगानाले पेनाल्टीबाट च्यासलका लागि गोल गरेका हुन् । तर, त्यो गोलले हार टार्न सकेन ।
Leave a Reply