Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अन्तत: ओलीको सत्ता संकट टर्‍यो

    अन्तत: ओलीको सत्ता संकट टर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, २१ बैशाख २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ ।

    गत बुधबार साँझको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव विधिवत् रूपमा अनुमोदन गर्दै शनिबार साँझको सचिवालय बैठकले उनलाई ‘उपयुक्त समय’ मा प्रतिनिधिसभा उम्मेदवार बनाउने माइन्युट गरेको हो । यद्यपि त्यो ‘उपयुक्त समय’ कहिले हो र कहाँबाट जिताएर ल्याउने भन्नेबारेमा नेताहरूले मुख खोलिसकेका छैनन् ।



    प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका काममा भएका कमजोरीप्रति आत्मआलोचना गरेपछि यसअघि उनको राजीनामा माग्ने अध्यक्ष पुष्पकमल दाहाल पछि हटेका हुन् । अध्यक्षद्वयको यो गठजोडमा वरिष्ठ नेता माधव नेपाल भने केही सशंकित छन् ।



    सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभाको कुनै स्थान खाली गराएर उपचुनावमार्फत संसद्मा भित्र्याउने निर्णय गरेको छ । यसका लागि कुन स्थान कहिले, कसरी खाली गर्ने भन्ने ठोस खाका आइसकेको छैन । आउँदो २४ गते बस्ने केन्द्रीय सचिवालयले तयार गर्ने प्रस्ताव र २५ गतेबाट सुरु हुने स्थायी कमिटीको बैठकबाट यसबारे थप स्पष्ट हुने नेताहरूले जनाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले सरकार र पार्टी सञ्चालनमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएको र अब आइन्दा पार्टीको नीतिअनुसारै सरकार सञ्चालन गर्ने बताएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठकका लागि सरकार सञ्चालन र पार्टी सञ्चालनमा भएका कमजोरीबारे सबै नेताले आत्मआलोचनासहितको प्रतिवेदन लैजाने भएका छन् ।

    बैठकमा कसले के भने ?
    शनिबार दिउँसो ५ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक साढे ६ बजेतिर मात्रै सुरु भयो, सकिँदा साढे ८ बजेको थियो । बैठक सुरु हुनुअघि दुई अध्यक्षका बीचमा करिब ३० मिनेट कुराकानी भएको थियो ।

    उक्त छलफलमा उनीहरूले मिलेर जाने विषयमा समान धारणा राख्ने सहमति गरेका थिए । उनीहरूबीच केही न केही सहमति बनेको छ भन्ने विषयको छनक बैठकस्थलमा दुवै अध्यक्षलाई समान देखाउने गरी व्यवस्थापन गरिएको कुर्सीले पनि दिएका थिए । नभन्दै बैठकको सुरुवात त्यसैगरी भयो । स्रोतहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा एकदम शान्त र शालीन रूपमा प्रस्तुत भएका थिए । बैठक सुरु गर्दै उनले आफ्ना कमीकमजोरीप्रति आत्मआलोचना गर्ने प्रतिबद्धता जनाए ।

    ‘मिलेर जानुपर्छ भन्दाभन्दै पनि हाम्राबीचमा केही तीतापिरा घटना भए, पार्टी नै फुट्लाजस्तो पनि भयो,’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘सरकारबाट भएका कमीकमजोरीको म जिम्मेवारी लिन्छु, आत्मआलोचना गर्छु, तपाईंहरूले पनि आफ्ना कमजोरीप्रति आत्मआलोचना गर्नुस् ।’ उनले अब सरकारले पार्टीकै सरसल्लाहमा काम गर्ने भन्दै मिलेर अघि बढ्न प्रस्ताव गरे । प्रधानमन्त्री ओलीले बहुमत पुर्‍याउन दुवै पक्षबाट भएका हस्ताक्षर च्यात्नुपर्ने बताएका थिए ।

    लगत्तै बोलेका अध्यक्ष दाहालले पार्टीलाई फुटाउन नहुने भन्दै सबै मिल्नुको विकल्प नरहेको धारणा राखे । ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ दाहालले भने, ‘एकताको सन्देश दिन पनि स्थायी कमिटी बैठक बोलाउनुपर्छ, बोलाऔं ।’

    वरिष्ठ नेता माधव नेपालले एकताबद्ध भएर अघि बढ्ने कुरा राम्रो भए पनि मिल्ने बहानामा अर्काे पक्षलाई एक्ल्याउने कुराचाहिँ आफूले नमान्ने बताएका थिए । ‘एकताबद्ध भएर अघि बढ्नु धेरै राम्रो कुरा हो, यति कुराचाहिँ बुझिराख्नुस्, त्यही बहानामा दुई अध्यक्षको चोचोमोचो मिलाउने होइन,’ उनले भने, ‘पार्टी पद्धतिमा चलाउनुपर्छ ।’ दिउँसोसम्म आफ्नै समूहमा रहेर बैठकमा कडा रूपमा प्रस्तुत हुने बताइरहेका दाहालको शैली एकाएक बदलिएपछि नेपाल सशंकित बनेका थिए । ‘यो मिलनको कुरा राम्रो भए पनि मलाई विश्वास लागेको छैन, यसमा बेनिफिट अफ डाउट्स छ,’ नेपालको धारणा थियो ।

    मिलेरै अघि बढ्नुपर्छ भन्ने अध्यक्षहरूको भनाइमा वरिष्ठ नेता झलनाथ खनाल र सदस्य ईश्वर पोखरेल पनि सहमत भएका थिए । ‘मिलेर जानुपर्छ तर विधि र पद्धतिअनुसार सरकार र पार्टीलाई चलाउनुपर्छ,’ खनालले भने । उपाध्यक्ष वामदेव गौतमले मिलेर जानुपर्छ भन्ने प्रधानमन्त्रीको प्रस्तावले आफूलाई खुसी लागेको भन्दै अब गुटबन्दी गर्न नहुने बताए ।

    गौतमपछि बोलेका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बैठकमा अलिक कडा रूपमा प्रस्तुत भएको स्रोतको भनाइ छ । ‘उहाँले अध्यादेश ल्याएर पार्टी एकतामाथि खतराको घण्टी कसले बजायो, पार्टी फुट्छ भनेर बहस कसले चलायो, प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भन्ने को हो र अहिले पार्टी एक नभई यथास्थितिमा कुरा फेर्ने को हो ? भनेर दुवै गुट लक्षित प्रश्नहरू राख्नुभएको थियो,’ स्रोतले कान्तिपुरसँग भन्यो । बैठकमा श्रेष्ठले आफू स्वार्थकेन्द्रित सत्ता संघर्षको छलफलमा सहभागी नहुने भन्दै त्यस्ता छलफलहरू किन चलाइयो भनेर प्रश्न गरेका थिए । उनले नै गौतमलाई प्रधानमन्त्री बनाउने अघिल्लो प्रस्ताव कहाँ पुग्यो भनेर सोधेका थिए ।

    श्रेष्ठको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले गौतमका बारेमा सोचौं भनेका थिए । ओलीले आफूले पहिले पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने घोषणा गरेको बताउँदै राजीनामा किन मागियो भनेर साथीहरूलाई नै सोध्नुपर्ने जवाफ दिएका थिए ।

    आफ्नो पालोमा केही पनि नबोलेका गौतमले अघिल्लो साताको प्रस्तावबारे कुरा उठेपछि भने आफ्नो फेस सेभिङका लागि भए पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन आग्रह गरेका थिए । ‘मेरो हुर्मत लिने काम भयो, म आफैं उम्मेदवार बन्छु कि बन्दिन थाहा छैन तर मलाई उम्मेदवार बनाउने निर्णय गरिदिनुपर्‍यो,’ गौतमले बैठकमा प्रस्ताव गरे । त्यसपछि उनलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय भयो ।

    यद्यपि सचिवालयको बैठकअघि प्रधानमन्त्री ओली र गौतमबीच छुट्टै कुराकानी भएको थियो । स्रोतका अनुसार उक्त कुराकानीमा ओली र गौतमले भूमिगत कालदेखिको प्रसंगसहित दुई नेताको पुरानो सम्बन्ध सम्झिँदै अघि बढ्ने कुरा भएको थियो । ‘विगतमा उहाँहरूको जुन घनिष्ठता थियो, त्यस्तै घनिष्ठता उहाँहरूबीचको आजको छुट्टै बैठकमा प्रकट भएको थियो,’ बालुवाटार स्रोतले भन्यो ।

    सचिवालय सदस्य रामबहादुर थापाले पार्टी रूपान्तरण हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु नपर्ने गरी भएको छलफललाई आफूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए । महासचिव विष्णु पौडेलले भने पार्टीलाई फुटको संघारबाट बचाएको भन्दै सन्तोष व्यक्त गरेका थिए ।

    ओलीको पक्षमा माहोल बनाउन दिनभर दौडधुप
    प्रधानमन्त्री ओलीले बुधबार साँझ आफूपछिको प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरे पनि त्यसपछि कुनै संवाद नगरेकाले गौतम ओलीको प्रस्तावबारे अन्योलमै थिए । त्यसबीचमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसँग पनि संवाद गरेनन् । यता दाहाल–नेपाललाई भने गौतम कुन गुटको हो, स्पष्ट पार्नुपर्‍यो भनेर दोस्रो तहका नेताहरूले दबाब दिइरहेका थिए । तर दाहाल–नेपाल अन्योलग्रस्त थिए । बुधबारदेखि शनिबार मध्याह्नसम्म आइपुग्दा बालुवाटार, खुमलटार र कोटेश्वरमा विभिन्न गुट–उपगुटका छलफल भए । केन्द्रमा रहेका वामदेवले भने कसैलाई पनि वचन दिइसकेका थिएनन्, उनी भैंसेपाटीस्थित निवासबाट बाहिरिएका पनि थिएनन् । त्यसबीचमा गौतमसँग महासचिव विष्णु पौडेलले भने दर्जनौंपटक भेटेको स्रोतको दाबी छ । भैंसेपाटीमा गौतम र पौडेलको निवासको दूरी करिब ५ मिनेटको मात्रै छ । शनिबार बिहान पनि गौतम निवास भैंसेपाटीमा छलफल गरेपछि गौतम र पौडेल प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।

    बालुवाटारमा गौतमसँग भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा उभिन आग्रह गर्दै प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने बताएका थिए । गौतमले पनि आफ्ना लागि त्यो माहोल बनाउने हो भने ओलीको पक्षमा डटेर लाग्ने बताएका थिए । लगत्तै महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग कुराकानी गरेर गौतमले उक्त प्रस्ताव सचिवालय बैठकमा लैजान आग्रह गरेका थिए । ‘म केपी कमरेडको कुरामा सहमत छु, यसलाई तपाईंहरूले सचिवालय बैठकको एजेन्डा बनाउनुहोला,’ गौतमले उनीहरूसँग प्रस्ताव गरेका थिए ।

    ओलीले आन्तरिक छलफल र ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने समय लिएकाले सचिवालय बैठक एक घण्टा पछि धकेलेका थिए । वामदेवले आफ्नो धार परिवर्तन गरेपछि सचिवालयमा ओलीको पक्षमा बहुमत पुगेको थियो । गौतमले अहिले तत्काल सम्भव नभएको संविधान संशोधनको फन्डामा लाग्नुभन्दा प्रतिनिधिसभा सदस्य बन्ने विकल्पमा अघि बढ्नु उत्तम हुने सोचेपछि बालुवाटार गएका थिए ।

    गौतम स्पष्ट रूपमा ओलीको कित्तामा उभिने बेलासम्म दाहाल–नेपाल गुटलाई अर्को रणनीति बनाउने समय थिएन । किनभने ओली पक्षका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी सचिवालयमा ओलीको बहुमत पुगेर हाललाई नेकपाभित्रको खड्को टर्‍यो भनेर कान्तिपुरलाई प्रतिक्रिया दिँदा दिउँसो साढे ४ बजिसकेको थियो । त्यतिखेर ओली राष्ट्रपति निवास शीतलनिवासमा थिए भने दाहाल–नेपालले तत्काल स्थायी कमिटी बैठक बोलाउने एजेन्डाबाहेक आफूहरूसँग अर्को विकल्प छैन भनेर सरसल्लाह गरिरहेका थिए ।

    हुन त संसदीय दलमा ओलीको बहुमत देखाउन गत मंगलबारदेखि चलिरहेको हस्ताक्षर अभियानमा गौतम पक्षका लगभग सबै सांसद सहभागी भएका थिए । हस्ताक्षर नै नगरे पनि सांसदसमेत रहेकी गौतमकी श्रीमती तुल्सी थापा पनि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन् । ‘गौतमका सांसदहरू त हाम्रो पक्षमा छैनन् तर उहाँले हामीलाई नै छोड्नुहोला जस्तो मलाई लागेको छैन,’ दाहालले शनिबार बिहानसम्म पनि आफूनिकटका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

    यो ब्रिफिङसँग जोडिएको कारणचाहिँ शुक्रबार दिउँसो ओली र दाहालबीच भएको भेट पनि हो । उक्त भेटमा दाहालले ओलीलाई सोधेका थिए, ‘तपाईंले वामदेवजीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव किन ल्याउनुभयो ?’ जवाफमा ओलीले आफूले गम्भीर भएर उक्त प्रस्ताव नल्याएको बताएका थिए । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसँग भन्यो, ‘तपाईंहरूले ढुंगा हानेपछि मैले प्रतिउत्तरमा अश्रुग्यास फ्याँकेको हुँ, भाग्ने कि प्रतिउत्तरमा मलाई नै अश्रुग्यास हान्ने तपाईंहरूको कुरा ।’ ओलीको यो जवाफले पनि गौतम आफ्नो पक्षमा हुन्छन् भन्नेमा दाहाल ढुक्क थिए । तर गौतमले गुट फेरेपछि ओली सचिवालय बैठकअघि नै बलियो बनिसकेका थिए । बैठकमा त दाहाल स्वयं पनि नाटकीय रूपमा परिवर्तन भए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार